प्रदेश र केन्द्रका विकास बजेटमा स्थानीय सरकार रमिते


समाचार बिश्लेषण दैलेख : स्थानीय सरकार सञ्चालनको पाँच वर्ष पूरा भई निर्वाचन मार्फत दोस्रो कार्याकालका लागि चुनाव सम्पन्न भईसकेको छ ।
स्थानीय तहका जनप्रतिनिधिहरुले आफ्नो पालिका मार्फत आएका विकासे कामलाई अलि बढी प्राथमिकता दिएको देखिन्छ भने प्रदेश र केन्द्र सरकार मातहतका कार्यालय मार्फत सञ्चालन विकास गतिविधिहरुलाई प्रभावकारी कार्यान्वयनको पक्षमा भने ध्यान दिन सकेको देखिदैन् ।
दीर्घकालिन योजनाहरुका कामहरु प्रभावकारी हुन सकेका छैनन्, कतिपय ठेक्का मार्फत सञ्चालन गरिएका कामहरुको प्रभावकारिता देखिएको छैन् ।
जिल्लाभरको यो समस्या समाधानका लागि पहिलो दायित्व स्थानीय तहको हुनुपर्ने स्थानीयको माग रहेको छ ।
विकास जुन सरकारले प्रदान गरेको भएपनि जनताकै करबाट आएको रकम हो । बैदेशिक ऋण किन नहोस उक्त ऋण समेत सबै नेपालीको टाउकोमा जोडिएको हुन्छ त्यसैले विकासको प्रभावकारिताका लागि आम नागरिकदेखि तीनवटै तहका सरकारको चासो बराबर हुनुपर्ने देखिन्छ ।
स्थानीय सरकारमा नयाँ चुनिएका जनप्रतिनिधिहरु केही दिनसम्म भोज भतेर, र फुलमाला लगाएर आर्शिवाद थाप्नु स्वभाविकै हो तर नयाँ आर्थिक वर्षका लागि बजेटको प्रभावकारीताका लागि जनताको आवश्यकता र चाहना अनुसार बजेट बनाउनुपर्ने समय सकिदै गरेको अवस्थामा योजना छनौटका सातवटा चरणहरुका बारेमा निर्वाचित जनप्रतिनिधिहरु लाग्नुपर्ने देखिएको छ ।
प्रदेश र केन्द्र सरकार मार्फत दैलेखमा सञ्चालन हुनुपर्ने विकासका बिषयमा जनप्रतिनिधिहरुले बढी भन्दा बढी चासो दिएर काम गर्न सकेको खण्डमा बजेटको सदुपयोग हुने देखिन्छ ।
दैलेखका बिभिन्न स्थानहरुमा करिव ३ सय भन्दा बढी योजनाहरु पूर्वाधार विकास कार्यालय मार्फत सञ्चालनमा रहेका छन् । अन्य बिभिन्न कार्यालयहरुमार्फत पनि विकासका कामहरु सञ्चालनमा छन् । कामको जिम्मेवारी लिएका ठेकेदार कम्पनीहरुले प्रभावकारी काम नगरेका कारण जिल्लाको समग्र विकासमा समस्या उत्पन्न हुने गरेको छ ।
सदरमुकाम दैलेख बजारको विग्रेको सडकका कारण सास्ति भोग्दै आएका छन् । पाँच वर्ष अघिको स्थानीय तहको निर्वाचन पछि दैलेख सदरमुकामको सडक तीन पटक भन्दा बढी पिच गरियो तर सडकको अवस्था फेरिएको छैन् ।
बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचन ताका यहाँको विकासमा दत्तचित भएर लाग्ने ठूला जनमुखि नारा लगाएका जनप्रतिनिधि निर्वाचित भएको १ महिना पुग्नै लाग्दा समेत नागरिकका समस्या यहाँको विकासको अवस्था लगाएतका विषयमा भने चासो दिएर लागेका देखिदैन् ।
यहाँका ११ वटा स्थानीय तहको मुटु मानिने दैलेख सदरमुकामको सडकको अवस्थाले सबैलाई गिज्याई रहेको छ । बारम्बार सुधारका लागि गरिने कामहरु गुणस्तरहीन हुनु सम्बन्धित निकायले स्थानीय तहमा हुने गरेका विकासे कामहरुको अवस्था बारे चासो नदिनु लगायतका कारणले यहाँको विकास दीर्घकालिन हुन नसकेको देखिन्छ ।
पर्यटकीय हिसावले महत्वपूर्ण मानिने दैलेखको विकासे अवस्थाले यहाँ आउँने आन्तरिक तथा वाह्य पर्यटकलाई गिज्याउछ । ०५३ सालमा स्थापना भएको नारायण नगरपालिका मुख्य बजारको अवस्था उदाहरणका रुपमा लिन सकिन्छ भने नयाँ सञ्चालनमा आएका दैलेखका अन्य स्थानीय तहको विकासे गति कस्तो होला भनेर सहजै अनुमान लगाउँन सकिन्छ ।
जिल्लामा विभिन्न तहका सरकार मातहत रहेर हुँदै आएका विकासे कामहरु गुणस्तरहिन हुनुले पछि स्थानीय सरकार सञ्चालकहरु बेखबर जस्तै देखिएको पुष्टि हुन्छ । दैलेख सदरमुकाम भित्रको सडक स्तरोन्नतीका लागि प्रदेश सरकारबाट आएको बजेट फ्रिज जाने अवस्था आउँदा समेत जनप्रतिनिधिहरु निर्वाचन जित पछिको रमझममै व्यस्त देखिन्छन् । यो समस्या दैलेखका ११ वटै स्थानीय तहमा देखिएको छ । यसको समाधान गर्नका लागि निर्वाचित प्रमुख र उपप्रमुखहरुले बिशेष चासो दिनुपर्ने अहिलेको आवश्यकता हो ।
पूर्वाधार कार्यालय दैलेख मार्फत नारायण नगरपालिकामा मात्र साना ठूला गरी २० बढी योजना÷आयोजना रहेका छन् । असार मसान्तसम्म निर्माणकार्य सम्पन्न गर्नुपर्ने योजनाहरुको अहिलेसम्म काम सुरु गरिएको देखिदैन् । निर्माण कम्पनीले कामको जिम्मा लिनु समयमै प्रगति नदेखाउनु स्थानीय सरकार सञ्चालकले चासो नदिनु यहाँको पुरानै समस्या हो । जुन समस्या अहिलेपनि दोहोरिने अवस्थामा पुगेको छ ।
पूर्वाधार कार्यालय मातहत दैलेख बजार भित्रको सडक स्तरोन्नतीको जिम्मा जयदुर्गा एसएस निर्माण कम्पनीले लिएको पूर्वाधार कार्यालय दैलेखले जनाएको छ । सडक स्तरोन्नतीको काम असार मसान्तसम्म सक्काउनु पर्ने भए पनि अहिलेसम्म कामको सुरुवात नगरिएको पूर्वाधार कार्यालय दैलेखका कार्यालय प्रमुख प्रभाकर प्रसाद सिंहले बताउँदै आएका छन् । निर्माण कम्पनीहरुलाई ताकेता गरेका छौं । एक्कासी रकम बढेको भन्दै कम्पनीहरुले होलिडेको बाहना बनाएका छन् । प्रमुख जिल्ला अधिकारी, नारायण नगरपालिका दैलेखका नगर प्रमुख सबैले चासो दिनुभएको छ’, ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार